दोहा । कतारस्थित नेपाली मुस्लिम समुदायले बाढी–पहिरोप्रभावितका लागि ४१ लाख रुपैयाँभन्दा बढी राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
नेपाल बाढीपीडित राहत अभियान’अन्तर्गत संकलित ४१ लाख ७ हजार ७२१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले जनाएको छ ।
रसुवागढी तथा आसपासका भोटेकोसी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको पहलमा विभिन्न नेपाली मुस्लिम संघ–संस्थाको सहकार्यमा रकम संकलन गरिएको हो ।
अभियानमा नेपाली मुस्लिम शान्ति समाज, फख्र मिल्लत फाउन्डेसन, नेपाल इस्लामिक ग्रुप, नेपाली मुस्लिम फाउन्डेसन धनुषा, रमौल मुस्लिम सेवा समाज, महोत्तरी मुस्लिम कमिटी संघ, नेपाली मुस्लिम परिषद्, मन्सुरी एकता मञ्च, नेपाल मुस्लिम एकता समाजलगायत संस्थाको सहभागिता रहेको जनाइएको छ ।
राहत अभियानलाई निरन्तरता दिने क्रममा कतारमा रहेका नेपाली मुस्लिम संघ–संस्थालाई समेटेर दीर्घकालीन सामाजिक परियोजना सञ्चालन गर्ने प्रस्तावसमेत गरिएको छ।
समाजका अध्यक्ष अजमत अलिले राहत अभियानअन्तर्गत सहयोग संकलन कार्य अझै जारी रहने जनाएको छ । साथै शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक आत्मनिर्भरतासहितका दीर्घकालीन कार्यक्रमलाई अघि बढाउने योजना सार्वजनिक गरेको छ ।




















