आशिक हुसैन शेख /  रामएकवाल राम
दोहा, कतार । रोजगारीका सिलसिलामा कतारमा रहेका नेपाली तथा विभिन्न देशका नागरिकहरूले नेपालमा आएको प्राकृतिक विपत्तिमा परेका बाढीपीडित परिवारका लागि उल्लेखनीय मानवीय सहयोग गरेका छन्।
नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कतारको बालदिया ३८ नम्बर क्याम्पमा रहेका नेपालीसहित भारतीय, बंगलादेशी र श्रीलंकाली समुदायका व्यक्तिहरूले संयुक्त रूपमा सहयोग रकम संकलन गरेका हुन्।
अभियानबाट संकलित ४ लाख ६२ हजार ६५७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जनाइएको छ।

IMG-20260913-WA0006
विदेशमा रोजगारी गरेर जीवनयापन गरिरहेका उनीहरूका लागि आफ्नो कमाइ केवल व्यक्तिगत आवश्यकता पूरा गर्ने माध्यम मात्र होइन, संकटको समयमा आफ्नो मातृभूमि र पीडित नेपालीका लागि सहयोग गर्ने माध्यमसमेत बनेको छ।
कतारमा दैनिक लामो समय काम गरेर परिवारको जीविकोपार्जनका लागि कमाइरहेका श्रमिकहरूले नेपालमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको खबर पाएपछि मानवीय भावनाका साथ सहयोग अभियान सञ्चालन गरेका थिए। आफूहरू विदेशमा भए पनि नेपालमा रहेका पीडित दाजुभाइ तथा दिदीबहिनीको पीडालाई आफ्नै पीडाका रूपमा लिएर सहयोगमा हातेमालो गरेका हुन।

IMG-20260913-WA0007
वैदेशिक रोजगारीको क्रममा आफ्नो घरपरिवार, आफन्त र गाउँसमाजबाट टाढा रहेका नेपालीहरूले विपद्का बेला देखाएको सहयोगले प्रवासी नेपालीको मातृभूमिप्रतिको सम्बन्धलाई थप प्रस्ट पारेको छ।
कतारमा पसिना बगाएर कमाएको रकममध्ये केही हिस्सा बाढीपीडितको राहतका लागि छुट्याउँदै उनीहरूले ‘देश टाढा भए पनि मन मातृभूमिसँगै हुन्छ’ भन्ने भावनालाई व्यवहारमा उतारेका छन्। 
यस अभियानमा नेपालीसँगै भारतीय, बंगलादेशी र श्रीलंकाली नागरिकहरूको समेत सहभागिता रहेको छ। विभिन्न देश, भाषा र समुदायका व्यक्तिहरू एउटै मानवीय उद्देश्यका लागि एक ठाउँमा उभिनुले विपद्को समयमा मानवताको कुनै सीमा नहुने सन्देश दिएको छ।
 रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा बाढीका कारण परिवारहरू प्रभावित भएपछि उनीहरूको राहतमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान अघि बढाइएको हो।