सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचन
सप्तरी, कार्तिक १२ — सप्तरीको सुरुंगा नगरपालिका–४, कनकपुरस्थित जन चेतना दलित संगमको सभाहलमा ‘संघर्षले बुनेका साझा सपना’ नामक पुस्तक विमोचन गरिएको छ। सिनोबहिष्कार आन्दोलन , भूमिअधिकार, सामाजिक न्याय, महिला अधिकार तथा विभिन्न सामाजिक आन्दोलनका संघर्ष र अनुभवलाई समेटेर तयार पारिएको उक्त पुस्तक भोइस अफ विमेन मिडियाको सर्वाधिकारमा रहेको छ भने चेतना पब्लिसर्स, ढोकाटोल, काठमाडौंले प्रकाशन गरेको हो।
पुस्तकमा ‘उन्मुख आकाशमा चम्किरहेका हिरा’, ‘सडकदेखि कानुनसम्म’, ‘मिटरब्याजको फन्दामा ललिता’, ‘संघर्षको प्रतीक’, ‘बिर्सिएका आवाजहरू’, ‘न्यायको मृगतृष्णा’, ‘पहिचानको खोजीमा’, ‘भूमिहीन सुकुम्बासी : संघर्षदेखि उठीबाससम्म’, ‘हामी त सरकारी मान्छे पर्यौँा’, ‘सम्मान र भूमिको लागि संघर्ष’, ‘जेन्जी आन्दोलनमा घाइते महिलाहरू’, ‘चौकठ नारीवादी अभियान’ तथा अपाङ्गता, अभियान र सशक्तीकरणलगायतका विषयमा लेखहरू समेटिएका छन्।
सिनो बहिष्कार आन्दोलनका अनुभव पनि पुस्तकमा
सप्तरी जिल्लामा २०५६ सालमा जन चेतना दलित संगम , भूमि अधिकार मञ्च नेपालका संस्थापक अध्यक्ष तथा हरवा–चरवा आन्दोलनलगायत विभिन्न सामाजिक आन्दोलनका अगुवा बलदेव रामको नेतृत्वमा सिनो बहिष्कार आन्दोलन सञ्चालन भएको थियो। दलित समुदायमाथि थोपरिएको विभेद र अपमानजनक सिनो फाल्ने प्रथा विरुद्ध भएको उक्त आन्दोलनमा प्रत्यक्ष सहयोग गरेकी महरी देवी, भोला देवी, चन्देश्वरी सदा लगायतका अगुवाहरूसँग ओमेन लिड नेपालकी बोर्ड अध्यक्ष तथा शोध अनुसन्धानकर्ता अञ्जली साहले अन्तर्वार्ता लिएकी थिइन्।
उक्त आन्दोलनले दलित समुदायको सम्मान, आत्मसम्मान र सामाजिक समानताका लागि गरेको संघर्षलाई स्मरण गराउँदै पुस्तकले सामाजिक आन्दोलनका अनुभव तथा इतिहासलाई अभिलेखीकरण गर्ने प्रयास गरेको छ।
कार्यक्रममा बोल्दै सुरुंगा नगरपालिका–४ की कार्यवाहक वडा अध्यक्ष हिरा कुमारी चौधरीले जातीय विभेद र छुवाछुत सामाजिक कलंकका रूपमा रहेको बताइन्। यस्ता प्रथाले समाजमा द्वन्द्व निम्त्याउने भएकाले विभेद र छुवाछुतलाई जरैदेखि उखेलेर फाल्न सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिइन्।
त्यसैगरी, जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले संस्थाले सञ्चालन गरेको सिनो बहिष्कार आन्दोलनको सफलतापछि पनि दलित तथा सीमान्तकृत समुदायका सवालमा निरन्तर काम गर्दै आएको बताए। उनले भूमिहीन समुदायको सुरक्षित आवास र भूमिअधिकार, हरवा–चरवाको पुनःस्थापना, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संस्थाले काम गरिरहेको जानकारी दिए।
स्थानीय बुद्धिजीवी तेजनारायण चौधरीले पुस्तकलाई विस्तृत रूपमा अध्ययन गर्न पर्याप्त समय नपाएको उल्लेख गर्दै यसमा समेटिएका विषयवस्तु राम्रा रहेको प्रतिक्रिया दिए। उनले सप्तरीको सामाजिक परिवर्तनसँग जोडिएको सिनो बहिष्कार आन्दोलनबारे थप सूचना, अनुभव र ऐतिहासिक विवरण समेट्न सके पुस्तक अझै उपयोगी हुने सुझाव दिए।
सामाजिक न्यायका संघर्षलाई दस्तावेजीकरण गर्ने प्रयास
पुस्तक विमोचन कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिरा कुमारी चौधरी, शोध अनुसन्धानकर्ता अञ्जली साह, जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम, दलित अभियन्ता शलिता सदा तथा सिनो बहिष्कार आन्दोलनमा सहभागी सुबधी बती चेमेन, भोला देवी राम, महरी देवी, चन्देश्वरी देवी सदा र मुनैर देवी रामको सहभागिता थियो।
त्यसैगरी, स्थानीय बुद्धिजीवी तेजनारायण चौधरी, प्रेमकुमार विश्वकर्मा, चाँदनी बेगमलगायत विभिन्न सामाजिक अभियानमा संलग्न अभियन्ताहरूको उपस्थिति रहेको थियो।
दलित समुदाय, भूमिहीन सुकुम्बासी, हरवा–चरवा, महिला तथा अन्य सीमान्तकृत समुदायले न्याय, पहिचान, सम्मान र अधिकार प्राप्तिका लागि गरेका संघर्षलाई सार्वजनिक बहसमा ल्याउन पुस्तकले योगदान पुर्यााउने अपेक्षा गरिएको छ। यस्ता प्रकाशनले विगतका सामाजिक आन्दोलनका अनुभवलाई अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्यााउन सहयोग गर्ने विश्वास गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्