तिलु शर्मा पौडेल
दोहा । भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले सञ्चालन गरेको आर्थिक अभियानबाट ५८ लाख १४ हजार ४३२ रुपैयाँ जुटेको छ।
कतारमा रहेका नेपाली समुदाय, विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहभागितामा अध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा अभियान सञ्चालन गरिएको थियो। अभियानमा सहभागीहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग उपलब्ध गराएका थिए।
अभियानबाट सङ्कलित रकम शनिवार आयोजित कार्यक्रममा एनआरएनए आइसिसीका पूर्व अध्यक्ष आरके शर्मा तथा वर्तमान पदाधिकारीलाई हस्तान्तरण गरिएको हो। उक्त रकम एनआरएनए आइसिसीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने एनसीसी कतारले जनाएको छ।
बाढीपीडितका लागि कतारबाट व्यक्तिगत तथा संस्थागत रूपमा अन्य माध्यमबाट समेत सहयोग भइरहेको भन्दै एनसीसी कतारले त्यस्ता सबै सहयोगको विवरण एकीकृत रूपमा सङ्कलन गर्ने भएको छ। सहयोगको व्यवस्थित अभिलेख तयार गर्न थप एक सातासम्म सहयोग विवरण उपलब्ध गराउन सकिने जनाइएको छ।




















