रामएकवाल राम
काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले बाढी पहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विपद् प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको थियो। पार्टीका महासचिव प्रकाश अधिकारी, डा. सुरेन्द्रकुमार झा तथा विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक एवम् पार्टी सचिव शैलेन्द्रप्रसाद साहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राहत कोषका लागि चेक हस्तान्तरण गरेको हो।
प्रतिनिधिमण्डलमा वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवेश्वर चौधरीलगायत सहभागी थिए।
बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना साझा दायित्व भएको भन्दै जसपाले विपद्को समयमा पीडित नागरिकको साथमा रहेको जनाएको छ। पार्टीले सरकारको उद्धार तथा राहत अभियानलाई पूर्ण समर्थन गर्ने पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
जसपाले देश तथा विदेशमा रहेका नेपाली नागरिक र दातृ निकायलाई पनि विपद् प्रभावितका लागि सञ्चालन भइरहेको मानवीय अभियानमा सहभागी हुन अपिल गरेको छ।
पार्टीको कोषमार्फत आर्थिक सहयोग गर्ने विभिन्न तहका समिति तथा सहयोगीहरूलाई धन्यवादसमेत दिइएको छ।





















