काठमाडौँ ३, असोज । नौ दलीय अग्रगामी मोर्चाले मधेश प्रदेशमा संगठन विस्तार तथा राजनीतिक परिचालनलाई थप तीव्रता दिने तयारीसहित आज शनिबार वीरगञ्जमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।
‘संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने मूल नारासहित मोर्चाको मधेश प्रदेश समन्वय समितिको आयोजनामा वीरगञ्जस्थित टाउन हलमा हुने बृहत् कार्यक्रमलाई मोर्चाका शीर्ष नेतृत्वले सम्बोधन गर्दैछन् ।
कार्यक्रममा मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार, कार्यकर्ताको अभिमुखीकरण तथा आगामी राजनीतिक गतिविधिबारे बृहत्छ छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।
मधेशमा मोर्चाको संगठनात्मक आधार विस्तार गर्नुका साथै आबद्ध दलका नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउनु गृहकार्य भएको बताइएको छ।
कार्यक्रममार्फत मोर्चाले आफ्नो राजनीतिक एजेन्डा, संगठनात्मक संरचना र आगामी कार्यदिशालाई स्थानीय तहसम्म पुर्याउने तथा मधेशमा थप राजनीतिक परिचालन गर्ने तयारी गरेको छ । भेलामा मधेशको ३ जिल्ला रौतहट, बारा र पर्साका हजारौं नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहने जनाइएको छ।
यसअघि भदौ २७ गते जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम मा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू तथा पाँच जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।




















