शियाराम यादव
सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षा क्षेत्रमा नयाँ मोड ल्याउने उद्देश्यका साथ स्थानीय पाठ्यपुस्तक "हमर नवराजपुर" कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि औपचारिक रूपमा लागु गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज कुमार सिंहज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उक्त पुस्तकहरू हस्तान्तरण गरिएको हो।
यस कार्यमार्फत स्थानिय इतिहास, संस्कृति, भाषा र जीवनशैलीसम्बन्धी ज्ञान विद्यार्थीहरूलाई बाल्यकालदेखि नै उपलब्ध गराउने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनु भयो। साथै, उक्त पुस्तक अनिवार्य रूपमा पठनपाठनमा समावेश गर्न सबै विद्यालयहरूलाई निर्देशन पनि दिइएको छ।




















