काठमाडौ -  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,( जसपा)  नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ। 
मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। 
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चूनाव चिन्ह दावी गर्ने सम्बन्धी सार्वजनिक संचार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं। साथै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराउँदछौँ।यद्यपि, जसपा नेपालको झण्डा गोल घेराभित्र पाँच कुने तारा र उक्त ताराभित्र मुठ्ठी कसेको हात रहेको छ। जसपा नेपालको चुनाव चिह्न भने ढल्केको छाता हो।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीच एकता भएर बन्न लागेको नेपाली कम्युनिस्ट पार्टीले पाँचकुने तारा चुनाव चिह्नका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। 

FB_IMG_1762255938330