दोहा । एसियाली राष्ट्र कतारले स्विट्जरल्यान्डको सामना शनिबार राति गर्दै छ । यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा सुरु गर्नेछ । कतारले युरोपेली राष्ट्र स्विट्जरल्यान्डविरुद्धको खेल नेपाली समयअनुसार राति ०:४५ बजे अमेरिकाको लेभिस मैदानमा हुनेछ । समूह ‘बी’मा दुवै तीन अंक बटुल्ने प्रयासमा रहनेछन् ।
दुईपटक एएफसी एसियन कपको विजेता कतार पहिलोपटक छनोट चरण पार गरी विश्वकपमा पुगेको हो । चार वर्षअघि कतार आयोजक राष्ट्रका रूपमा सिधै छनोट भएको थियो । तर, कतारले घरेलु मैदानको फाइदा लिन सकेन । कतार पहिलो चरणबाटै बाहिरियो ।
स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको प्रशिक्षण रहेको कतार त्यसवेला बलिया राष्ट्र नेदरल्यान्ड्स, सेनेगल र इक्वेडरसँग पराजित भयो । उसले विपक्षी पोस्टमा एक गोल गर्दा सात गोल व्यहोरेको थियो । अहिले कतारका प्रशिक्षक लुलेन लोपेटगुई विश्वकपमा पहिलो जित निकाल्न चाहन्छन् । उनले अल्मोज अली र अक्रम अफिफलाई मुख्य खेलाडीका रूपमा समावेश गरेका छन् । अलीले एसियन छनोटमा १२ तथा अफिफले ११ गोल गरेका छन् । स्विट्जरल्यान्डसँग विश्वकप खेलेको १३ पटकको अनुभव छ ।
पछिल्लो तीन संस्करण उसले अन्तिम १६ को बाटो तय गरेको थियो । स्विट्जरल्यान्ड तीनपटक क्वार्टरफाइनल पुगेको छ । सन् १९३४, १९३८ र सन् १९५४ मा स्विट्जरल्यान्ड अन्तिम आठसम्म पुगेको थियो । विश्वकपको अनुभवी राष्ट्र स्विट्जरल्यान्डको पछिल्लो ६ विश्वकप यात्राको पहिलो खेल नै खराब रह्यो । उसले पहिलो खेलमा हारको सामना गरेको थियो । सन् १९६६ मा स्विट्जरल्यान्डले वेस्ट जर्मनीलाई हराएको थियो ।


















