लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ । “बालमैत्री स्थानीय शासन पद्धती र व्यवहारः समृद्ध सुरुङ्गाको आधार” भन्ने मूल नाराका साथ शुक्रबार वडाको भेडिया बजारमा एक भव्य कार्यक्रमको आयोजना गरी वडा घोषणा सभा–२०८३ सम्पन्न गरिएको हो ।
बालअधिकारको संरक्षण, संवर्द्धन र बालबालिकाको
सर्वाङ्गीण विकासका लागि आवश्यक सूचकहरू पूरा गरेपछि यस वडालाई बालमैत्री घोषणा
गरिएको हो । बालमैत्री स्थानीय शासन वडा समिति, सुरुङ्गा नगरपालिकाको आयोजना र सुरुङ्गा
नगरपालिका वडा नं. २ कार्यालय, भेडियाको सहयोगमा यो ऐतिहासिक सभा
सम्पन्न भएको हो । कार्यक्रमलाई सफल बनाउन विकास साझेदार संस्थाहरू Save
the Children र
सबल नेपाल (SABAL NEPAL) ले समन्वय तथा सहकार्य गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सुरुङ्गा नगरपालिकाका नगर
प्रमुख गीता चौधरीले औपचारिक रूपमा वडालाई बालमैत्री घोषणा गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बालबालिकाको अधिकार, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र अर्थपूर्ण सहभागितालाई
सुनिश्चित गर्दै स्थानीय तहलाई बालमैत्री बनाउनु वर्तमान समयको मुख्य आवश्यकता
भएको बताइन् ।
“बालमैत्री वडा घोषणाले सुरुङ्गा
नगरपालिकालाई अझ व्यवस्थित, जिम्मेवार
र समृद्ध स्थानीय सरकारका रूपमा स्थापित गर्न बलियो सहयोग पुग्नेछ,” नगर प्रमुख चौधरीले विश्वास
व्यक्त गरिन् । उनले आगामी दिनमा नगरपालिकाका अन्य वडाहरूलाई पनि क्रमशः बालमैत्री
बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाइन् ।
वडा नं. २ का वडा अध्यक्ष अर्जुनराज खपांगी मगरको अध्यक्षतामा
सम्पन्न उक्त घोषणा सभामा स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य
उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख
रुद्रबहादुर कार्की तथा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास सहभागी भई
बालमैत्री अवधारणालाई दिगो बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सुरुङ्गा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूले
समेत ऐक्यबद्धता जनाएका थिए । वडा नं. ४ का वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, वडा नं. ७ का वडा अध्यक्ष शिव
नारायण चौधरी, र
कार्यपालिका सदस्य हिरा कुमारी चौधरी लगायतले बालमैत्री वडा बनाउन चालिएका
कदमहरूको प्रशंसा गर्दै यसको व्यवहारिक कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग
रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, बालमैत्री
अभियानमा प्राविधिक तथा सामाजिक सहयोग पुर्याउँदै आएका Save
the Children का
वरिष्ठ कार्यक्रम संयोजक मकर बहादुर सार्की, सबल नेपाल (SABAL
NEPAL) का
फिल्ड संयोजक अशोककुमार साह, भुपेश कुमार साह र रोशन कुमार
मण्डलले बालमैत्री शासनका सूचकहरूलाई दिगो राख्न निरन्तर अनुगमनको आवश्यकता
औंल्याए ।
सुरक्षा निकायका तर्फबाट इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी
निरीक्षक पूर्ण कुमार राईले बालबालिकामाथि हुने हिंसा र बालश्रम न्यूनीकरणमा
प्रहरीले शून्य सहनशीलता अपनाउने बताए । कार्यक्रममा शिशुवारी क्याम्पसका प्रमुख, बाल कल्याण अधिकारी शाखा प्रमुख
रिंकु कुमारी यादव, तथा
बालमैत्री सुपरभाइजर विशेन्द्र पासमान लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरीक्षक मुना समाल मगरले गरेकी थिइन् ।
घोषणा सभामा बोल्ने वक्ताहरूले बालअधिकार संरक्षण, बालश्रम न्यूनीकरण, बालबालिकाको अनिवार्य शिक्षा र
सुरक्षित बालमैत्री वातावरण निर्माणका विषयमा विशेष जोड दिएका थिए । स्थानीय
शासनमा बालबालिकाको आवाजलाई प्राथमिकता दिँदै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन
सम्भव भएको धारणा वक्ताहरूले राखेका थिए ।
वडा नं. २ लाई बालमैत्री वडा घोषणा गरिनुलाई स्थानीय सरकार, नागरिक समाज, विद्यालय, अभिभावक, बाल क्लब तथा विभिन्न सरोकारवाला
निकायहरूबीचको लामो समयदेखिको संयुक्त प्रयास र सहकार्यको ठूलो उपलब्धिको रूपमा
हेरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, अभिभावक, विभिन्न बाल क्लबका प्रतिनिधि तथा
सर्वसाधारणको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो । बालकालिकाहरूले विभिन्न
चेतनामूलक सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।




















